काठमाण्डौ महानगरपालिकाले सडक तथा सडकपेटीजस्ता सार्वजनिकस्थलमा निर्माणको काम सकेपछि ती स्थानलाई पूर्वावस्था नबनाइ छाड्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । यही वैशाख ५ गतेदेखि तोकिएबमोजिमको काम नगर्नेलाई प्रचलित कानुनी व्यवस्था अनुसार कडा कारबाही गर्नेछौं, महानगरका उपप्रमुख सुनिता डङ्गोलले भनिन ।
निर्माणको काम सकेपछि पूर्ववत अवस्था नगराई छाड्ने गरेका कारण आवागमन, शहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको बताइन् ।
सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा जुनसुकै प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि नै निर्माणकार्य गर्ने व्यक्ति, निजी क्षेत्र, सङ्घसंस्था, कम्पनी, जुनसुकै निकाय वा ठेक्का प्राप्त गर्ने व्यक्तिले अनिवार्य रूपमा महानगरबाट स्वीकृति लिनुपर्ने र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगरले जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ।