पधेंरोमा नुहाउन गएकी १९ वर्षकी युवतीको हत्यामा संलग्न भएको आरोपमा पाल्पामा एकजना पक्राउ परेका छन् ।रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी पद्मा सुनारको हत्या अभियोगमा प्रहरीले स्थानीय सागर भनिने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो । पद्माका बुवा दलबहादुर सुनारले उनीविरुद्ध दिएको किटानी जाहेरी शुक्रबार प्रहरीले दर्ता गरेको छ ।
१३ चैतमा देवलालले धारिलो हतियारको प्रयोग गरी पद्माको हत्या गरेको प्रहरीको भनाइ छ । देवलालले पद्मासंग भनाभन हुँदा आवेशमा आएर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । प्रहरीले लप्सीफेंदीस्थित देवलालको घर र गोठबाट हत्यामा प्रयोग भएको हसिया, मोवाइललगायतका सामान बरामद गरेको छ ।हत्या भएकै दिनदेखि प्रहरीले देवलाललाई निगरानीमा राखेको थियो ।पद्माको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ ।