प्रहरी वृत्त दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।खोटाङको मझुवागढी घर भएका ३२ वर्षीय घिमिरेको शुक्रबार राति हत्या भएको थियो । टोखा नगरपालिका–१० गोंगबु गणेशस्थान बस्ने घिमिरेको शव तारकेश्वर नगरपालिका–९ मनमैजु बासुकी नाग टोलस्थित जोनस भनिने दामोदर खत्रीको निर्माणाधीन घरको नजिक भेटिएको थियो ।निर्माणाधीन दुई तले घरमा हत्या गरी घर बाहिर फालिएको अवस्थामा शुक्रबार राति शव भेटिएको थियो । कालो म्याट्रेसले छोपिएको अवस्थामा शव भेटिएको थियो भने घिमिरेको अनुहारभरि चोट थियो ।
ट्राफिक प्रहरीको पोशाक र बुट जलाइएको अवस्थामा भेटिएको थियो ।हत्या आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेकाहरुमा भक्तपुरको चाँगुनारायण–१ घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जाको आँधीखोला गाउँपालिका–३ बिजारी चौतारी घर भएकी ५६ वर्षीया नुनमाया कार्की, उनकी छोरी २१ वर्षीया बिपना र बसन्ती भनिने बसुन्धरा कार्की, नुवाकोटको तादी गाउँपालिका–४ ओखरे घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाचोकको इन्द्रावती गाउँपालिका–१ घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र उदयपर घर भएका १३ वर्षीय बालक छन् । सचिन र अञ्जली श्रीमान श्रीमती भएको खुलेको प्रहरीको भनाइ छ ।