काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा पवन कुमार खड्कालाई नियुक्त गर्न लागेको छ। खड्का यसअघि सूर्यज्योति लाइफ इन्स्योरेन्सका वरिष्ठ उप-प्रमुख कार्यकारी (सिनियर डेपुटी सीईओ) थिए। उनले आफ्नो पूर्व पदबाट राजीनामा दिइसकेका छन् र अब छिट्टै आइएमई लाइफको नेतृत्व सम्हाल्ने तयारीमा छन्।
आइएमई लाइफले सीईओ चयन प्रक्रिया अन्तर्गत अन्य वरिष्ठ उम्मेदवारहरूसँग अन्तर्वार्ता गरेको थियो, जसमा सानिमा रिलायन्स लाइफका उप-प्रमुख कार्यकारी निराजन कँडेल, हिमालयन लाइफका कपिल दाहाल, र पूर्व गुराँस लाइफ इन्स्योरेन्सका नारायण कुमार भट्टराई पनि सहभागी थिए। अन्तिम निर्णयमा खड्का चयन भएका हुन्।
स्रोतका अनुसार खड्का अब छिट्टै नै कार्यभार सम्हाल्नेछन्। यद्यपि, उनको नियुक्तिको जानकारी नेपाल बीमा प्राधिकरणलाई दिन बाँकी छ।
बीमा क्षेत्रका अनुभवी व्यक्तित्व खड्काले व्यवस्थापनमा स्नातकोत्तर र एसीसीए पूरा गरेका छन्। उनले सूर्या लाइफका सीईओका रूपमा सफल कार्यकाल बिताइसकेका छन् र नेपाल लाइफ इन्स्योरेन्समा पनि काम गरिसकेका छन्। बीमा, जलविद्युत, उत्पादन, अडिटिङ, र वित्तीय परामर्शमा डेढ दशकभन्दा बढी अनुभव संगालेका खड्काले आइएमई लाइफको नेतृत्वमा थप सुधार ल्याउने अपेक्षा गरिएको छ।
हालसम्म आइएमई लाइफको कार्यवाहक सीईओको जिम्मेवारी डेपुटी सीईओ दिनेश बहादुर अमात्यले सम्हालिरहेका छन्। यसअघि, सीईओ कवि फुँयालको चार वर्षे कार्यकाल समाप्त भएपछि अमात्यलाई यो जिम्मेवारी दिइएको थियो।