आज बिहान इच्छाकामना गाउँपालिका ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार ५ जनाको मृत्यु र १ जना बेपत्ता भएका छन् ।
त्रिशुलीमा खसेको ट्याक्सीमा सवार ६ जनाले आफ्ना परिवारका सदस्यको दाहसंस्कार गरी फर्किँदै गर्दा त्रिशुलीमा खसेको हो । क्यान्सर रोगले मृत्यु भएका शंकर रोकाको हिजो शुक्रबार काठमाडौँ पशुपतिमा दाहसंस्कार गरेर आज विहान फर्किने क्रममा परिवारजन चढेको ट्याक्सी त्रिशुलीमा खसेको गोरखा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
वडा अध्यक्ष श्रेष्ठका अनुसार ट्याक्सीमा मृतककी आमा जुनमाया रोका, जुनमायाकी जेठी छोरी हरिमाया उपरकोटी र कान्छी छोरी अञ्जना रोका थिए । त्यसैगरी हरिमायाको छोरा आगमन र हिजो दाहसंस्कार गरेका शंकरका छोरा विवश पनि थिए ।
प्रहरीका अनुसार शंकरका आफन्त काठमाडौँबाट तीनवटा गाडीमा फर्किदै गर्दा दुर्घटना भएको हो । अन्य दुई गाडी मुग्लिन आइपुगेपछि धेरैबेर कुर्दा नआएपछि उनीहरुले प्रहरीलाई खबर गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेश रिमालले जानकारी दिए । खोज्दै जाँदा सडकको डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा झरेर हेर्दा ट्याक्सी खसेको भेटिएको उनले बताए ।