मंगलबार बिहान ६ः५० बजे गएको भूकम्पले सिन्धुपाल्चोकको एक प्रहरी चौकीमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमाशंकर यादवले जानकारी दिए।उनका अनुसार भोटेकोशी गाउँपालिका वडा नम्बर ४ स्थित फुल्पिङ कट्टी चौकीको भवन सामान्य चर्किएको हो । यता काठमाडौंमा भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले घरको छतबाट हाम फालेका छन् । नेपाल प्रहरीका अनुसार स्युचाटार निवासी ती व्यक्ति घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । प्रहरीले उनको परिचय भने सार्वजनिक गरेको छैन ।आज बिहान ६ बजेर ५० मिनेट जाँदा चीनको जिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पको धक्का नेपालका कोशी, मधेश र बागमती प्रदेशका जिल्लाहरुमा महसुस भएको थियो । काठमाडौंबासी आत्तिएर घरबाहिर निस्किएका थिए ।प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ भने ६२ जना घाइते भएका छन् ।तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले भूकम्पबाट ज्यान जानेको संख्या ५३ पुगेको जानकारी दिएको हो ।यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेहरूको उपचारमा उच्च प्राथमिकता दिन निर्देशन दिएका छन् ।उनले सम्भावित थप क्षति रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनस्र्थापित गर्न र घटनापछिको कामलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न निर्देशन दिए ।सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ ।
