धरानका लागि खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा रित्तो गाग्रीसहित छिर्ने तयारी गरेको भए पनि बिना गाग्री पुगेका छन् ।गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् । उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।
उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनको मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ । धरानमा पानी सधैंको चुनावी एजेण्डा भए पनि समस्या उस्तै छ । हर्कले पनि चुनावी मुद्दा खानेपानीलाई नै बनाएका थिए । धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै छ ।
खानेपानीको अभाव झेल्दै आएको धरानमा पानीको निहुँमा निकै ठूला विवाद मच्चिने गरेको छ ।