अछाममा बाख्रा चराउन गोठाला गएका कमलबजार नगरपालिका–१० घोडासैनस्थित विद्या प्रवर्दनी माविमा कक्षा आठमा अध्ययनरत दुई किशोरी मृत भेटिएका छन । मृत भेटिनेमा ढकारी गाउँपालिका–८, पल्साता भन्ने गाउँका १४ वर्षीय ईश्वरी खड्का र १५ वर्षीय सरस्वती खड्का रहेका छन् ।
शुक्रबार बाख्रा चराउन गएका एकै घरका दुई बहिनीहरूको शव शनिबार अपराह्नतिर भेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ईश्वरी प्रसाद भण्डारीले दुई किशोरीको शव अन्दाजी १५–१६ मिटरको दुरीमा भेटिएको बताए ।
घटना निकै शंकास्पद देखिएकाले अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर मगाएको छ। घटनास्थलमै रहेका डीएसपी भण्डारीका अनुसार शव भेटिएको स्थानको माथितिर ढुंगैढुंगाको ठुलो भीर छ ।
त्यहाँबाट खसेका हुन् कि भन्ने प्रारम्भिक बुझाइ भएपनि वास्तविकता अनुसन्धानबाट मात्र खुल्ने उनले बताए।’दुवै किशोरीको शरीरमा चोटपटकको निसाना देखिएको छ,’ उनले भने ।