नागरिक उन्मुक्ति पार्टीका नेताहरुले पार्टीका संस्थापक रेशमलाल चौधरीले आफूहरुलाई ज्यान मार्ने धम्की दिएको बताएका छन्।सोमबार अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संस्थापक केन्द्रीय समितिको बैठकमा पार्टीका अध्यक्ष रञ्जिता चौधरी पक्षका नेताहरूलाई रेशम चौधरीले ज्यान मार्ने धम्की दिएका नाउपाका नेता रमेश बिकले बताए । सोमबारको बैठकमा सुदूरपश्चिम सरकारबाट बाहिरिने लगायतका विषयमा छलफल भएको थियो । केन्द्रीय सदस्यहरुले बैठकमा धारणा राखिरहेका थिए । त्यतिबेलै रेशम चौधरीले सदूरपश्चिममा अहिलेको सरकार ढलेमा ज्यान मार्ने धम्की दिएका हुन् ।‘हामीले धारणा राख्ने क्रममा विवाद भयो । रेशम चौधरीज्यूले धम्कीपूर्ण भाषामा सुदूरपश्चिममा कमल शाहको सरकार टिकेन भने तिमीहरूको हत्या हुन सक्छ भनेर तर्साउनुभयो’, उनले भने ।सुदूरपश्चिममा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन् र उनले नागरिक उन्मुक्ति पार्टीको समर्थन लिन ५ जनालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।तर गत हप्ता कैलालीमा बसेको नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले सुदूरपश्चिम सरकारबाट बाहिरिने निर्णय गरेको थियो । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सुदूरपश्चिम सरकारबाट बाहिरिने पक्षमा छिन् भने पार्टीका परिकल्पनाकार रेशम चौधरी बाहिरिन नहुने पक्षका छन् ।त्यही विषयमा छलफलका क्रममा विवाद हुँदा रेशमले ज्यान मार्ने धम्की दिएका हुन् । रेशम र रञ्जिता पक्षबीच विवाद हुँदा बैठकमै हात हालाहालको अवस्था बनेको थियो ।यसअघि आइतबार पनि रेशम चौधरीले फोनमार्फत आफूहरूलाई प्रधानमन्त्रीलाई भेट्न वालुवाटार नजान र गए ज्यान मार्ने धम्की दिएको बिकले बताए ।उहाँ (रेशम) ले हिजो पनि हामीलाई फोन गरेर प्रधानमन्त्रीलाई वालुवाटार भेट्नु नजानू, यदि गयौ र कमल शाहको सरकार तलमाथि भयो भने तिमीहरूको हत्या हुन सक्छ भनेर धम्क्याउनुभयो’, उनले भने, ‘तर हामीले त्यसलाई गम्भीर रुपमा लिएनौं । तर आज केन्द्रीय कार्यालयमा मिटिङ चल्दै गर्दा बाहिरबाट चुकुल लगाएर हामीमाथि आक्रमण भयो । त्यसपछि उहाँ (रेशम) ले बैठकमै फेरि त्यही हत्या गर्ने धम्की दिनुभयो ।’