३० माघ, काठमाडौं । मेलम्ची खानेपानीको मुख्य पाईप फुटेपछि बबरमहल स्थित विशेष अदालत लगायतका सरकारी भवन जलमग्न बनेका छन । बबरमहलको सडकमा रहेको पानीको पाइप फुटेपछि त्यहाँबाट बगेको पानी सरकारी भवन परिसरसम्म पुगेको हो । पानी जमेर त्यहाँ रहेका सवारी साधनहरु डुबेका छन् भने त्यहाँ आवतजावतमा पनि समस्या भएको छ । यता सडकमा यातायात समेत प्रभावित भएको छ । पाइप फुटेपछि अहिले त्यहाँ वरपर रहेका सरकारी कार्यलय समेत डुबानमा परेका छन । काठमाडौं महानगर प्रहरीका कार्यबाहक प्रमुख एसपी विष्णु जोशीका अनुसार काठमाडौं जिल्ला अदालत अगाडि पाइप फुटेको हो । वन परिसर,विशेष अदालत, काठमाडौं जिल्ला अदालत लगायतका सरकारी कार्यालयमा बाढि पसेको छ । उनका अनुसार यो पाइप फुटेपछि काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । अहिले बबरमहलमा नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरीको टोली खटिएको छ ।