कोहलपुर, चैत १ – कोहलपुरको खुला मञ्चमा उद्योग व्यापार संघ कोहलपुरको आयोजनामा तथा सचेत युवा कोहलपुरको सहकार्यमा होली मिलन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। हिन्दू धर्मावलम्बीहरूको प्रमुख रंगको पर्व होलीलाई समुदायमा एकता, माया, र सद्भाव फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रमको अध्यक्षता उद्योग व्यापार संघ कोहलपुरका अध्यक्ष विष्णु खनालले गरेका थिए भने सञ्चालन सचेत युवा कोहलपुरका सदस्य शंकर न्यौपानेले गरेका थिए । कार्यक्रममा सहभागीहरूले एकअर्कालाई रंग लगाउँदै पर्वको उल्लासपूर्ण माहोल सिर्जना गरे ।
कार्यक्रमको विशेष आकर्षण भनेकै घैटो फोर र म्युजिकल चेयर दौड जस्ता मनोरञ्जनात्मक प्रतिस्पर्धाहरू रहे। स्थानीय युवादेखि विभिन्न व्यवसायी र समुदायका व्यक्तिहरूले उत्साहपूर्वक भाग लिएका थिए । भाग लिने सहभागी मध्ये म्युजिकल चेयर कार्यक्रमको प्रथम तपेन्द्र वली र सान्त्वना विदुसिमाले जितेका थिए । प्रथम हुनेलाई रु २५००/- बराबरको जुत्ता फेसन शु सप्लायर्सका प्रोप्राइटर हरि देवकोटाले गरेका थिए ।
उद्योग व्यापार संघका अध्यक्ष खनालले यस्ता कार्यक्रमहरूले समुदायमा एकताको भावना बढाउने विश्वास व्यक्त गरे। साथै, संचालक न्यौपानेले पनि भविष्यमा यस्तै सृजनात्मक गतिविधिहरूलाई निरन्तरता दिने योजना रहेको जानकारी दिए ।
रंग, हाँसो, संगीत, र प्रतिस्पर्धासहित सम्पन्न यस कार्यक्रमले सामुदायिक एकता र आपसी सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास गरिएको छ ।


